नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाका अधिकांश विषयमा मतभेद रहन्छन्।
मतभेद बढ्दै जाँदा सभापति देउवा पक्ष र महामन्त्री थापा तथा उनीनिकट केन्द्रीय सदस्यहरूबीच केन्द्रीय समितिलगायतमा पनि घोचपेच चल्ने गर्छ।
तर पछिल्ला केही विषयमा भने सभापति देउवा र महामन्त्री थापाका कुरा मिल्न थालेको देखिएको छ।
गत फागुनमा भएको महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमा अबका आम निर्वाचनहरूमा कांग्रेसले गठबन्धन नगर्ने विषय उल्लेख थियो।
त्यसबेला सभापति देउवाले गठबन्धन गर्ने वा नगर्ने विषय रणनीतिक भएको बताउँदै यो विषय प्रस्तावबाट हटाउन खोजेका थिए। तर पाँच महिनापछि बसेको केन्द्रीय समिति बैठकले महासमितिमा महामन्त्री थापाले राखेको विषय जस्ताको तस्तै पारित गरेर कांग्रेसको नीति बनाएको छ।
सभापति देउवा पनि गठबन्धन नगर्ने पक्षमा राजी भएपछि थापाको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन भएर पार्टीको नीति बनेको थियो।
महामन्त्री थापालगायत कांग्रेसका अधिकांश सांसदले सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका थिए।
कांग्रेसको मागअनुसार असार १५ गते समिति पनि बन्यो। उक्त समितिले सहकारीको रकम गोर्खा मिडियामा ६५ करोड रुपैयाँ आएको देखिएको ठहर गर्दै प्रतिनिधि सभामा प्रतिवेदन पेस गरिसकेको छ। साथै समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका रवि लामिछानेको नाम पनि कारबाही गर्न भन्दै सिफारिस गरेको छ। बुधबारको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरिसकेको छ।
लामिछाने सहकारीमा जोडिएको विषय उठान गर्नेमा महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, तत्कालीन प्रमुख सचेतक रमेश लेखक, सचेतक सुशीला थिङलगायत थिए।
सहकारीसम्बन्धी छानबिन गर्न नेकपा (एमाले) का सांसद सूर्य थापाको सभापतित्वमा बनेको सात सदस्यीय समितिले लामिछानेलगायतलाई पनि कारबाही सिफारिस गरेपछि सहकारी अपचलनमा लामिछानेको संलग्नता पनि पुष्टि भएको छ।
कांग्रेस सभापति देउवाले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको प्रतिवेदनले देखाएको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक सय दिने अभियान सुरूवात गर्दै उनले पार्टीले संसदमा रास्वपा सभापतिबारे उठाएका सहकारीबारे प्रश्नहरू अहिले प्रमाणित भएको बताएका हुन्।
लामिछानेले सहकारीको बचत अपचलन गरेको आफूलाई सुरूमा विश्वास नलागेको बताएका सभापति देउवाले महामन्त्री गगन थापाले सो विषय उठान गर्दै समिति बनाउन दबाब दिएको पनि स्मरण गरेका हुन्।
‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगन थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु,’ सभापति देउवाले भने, ‘मैले पत्याएकै थिइनँ, सहकारीमा यस्तो छ भनेर। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर।’
सभापति देउवाले यस विषयमा महामन्त्री थापाले जितेको पनि बताए।
‘तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई,’ महामन्त्री थापालाई सभापति देउवाले भने।