राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा शुभकामना दिँदै उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्रै युगको अपेक्षा पूरा नहुने पनि बताए।
‘त्यसका लागि राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ। अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन,’ शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न एकजुट हुन प्रेरणा दिने अपेक्षा राष्ट्रपति पौडेलको छ।
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको बताएका छन्।
‘संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ। सबै किसिमका बेथितिलाई अन्त्य र सुशासनको माध्यमबाट उपलब्ध साधन स्रोतको उचित व्यवस्थापन गर्दै न्यायोचित वितरण गर्न सके नेपाल समुन्नत राष्ट्र हुन सक्दछ,’ उनले सन्देशमा भनेका छन्।
हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनामा बहुजातीय, बहुभाषिक एवम् बहुसंस्कृतिक पक्षलाई संविधानले समान संरक्षण प्रदान गरेको र आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैँबाट हुन नहुने राष्ट्रपति पौडेलले बताएका छन्।
उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, बचन र कर्मले समर्पित भई आ–आफ्ना तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि कष्टपूर्ण सङ्घर्ष गरेका योद्धा तथा विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताप्रति सम्मान र लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा पनि गरेका छन्।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरे।
संविधानसभाबाट विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ।