राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संगठन, सडक र सदन तीनै मोर्चालाई प्रभावकारी बनाउने बताएका छन्।
बुधबार सकिएको केन्द्रीय परिषदको प्रथम भेलाको अन्तिम सत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले त्यस्तो बताएका हुन्।
'सरकारका गलत निर्णय र क्रियाकलाप तथा ठूला दलले संसदीय बल प्रयोग गरेर गर्न सक्ने प्रहारविरूद्ध एवं जनाधिकारका पक्षमा अब चाहिँ सडकमा उत्रिनुपर्ने हुन सक्छ भन्ने तयारीमा रहने। जनाकर्षणका लागि सडक लक्षित अभियानात्मक कार्यक्रम बढाउने। सडक केन्द्रित गैरराजनीतिक अभियान र मुद्दामा ऐक्यबद्धता जनाउँदै नेताहरूको व्यक्तिगत उपस्थिति र सक्रियता बढाउने,' रास्वापले सुझाव सहित पारित गरेको दस्तावेजमा उल्लेख छ।
संगठन, संसद र सडक (तीनवटै मोर्चा )मा पार्टीले तत्काल खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने मुद्दाबारे यो भेलाले गर्ने निर्देशअनुसार केन्द्रीय समितिले विस्तृत कार्ययोजना बनाएर लागू गर्ने पनि सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।
'वैशाखका लागि प्रस्तावित महाधिवेशनले यि तीनवटै मोर्चामा सशक्त उपस्थितिको नीति, योजना र कार्यक्रम बनाउने नै छ,' प्रतिवेदनमा भनिएको छ।
मुलुकको चौथो शक्ति, जनविश्वासको जग र फरक गर्ने स्वघोषणाका कारण पनि रास्वपासँग विराट जिम्मेवारी रहेको प्रतिवेदनमा लेखिएको छ।
'हाम्रो उपस्थितिले जगाएको 'आशा' बढाउँदै मुलुकको रूपान्तरण र राजनीतिलाई जनसेवाको उच्चतम माध्यम प्रमाणित गर्न असीमित दायित्व छ। हाम्रा नीति योजना कार्यान्वयन र नागरिकका अपेक्षा सम्बोधन गर्ने सामर्थ्यमा पुग्ने गरी जनमत आफ्नो पक्षमा पार्न हामीले निकै मेहनत गर्नुपर्ने छ। नागरिकस्तरमा नीति– विचार पुर्याउने, रूपान्तरणका योजना सुनाउने र उनीहरूका भावनाको सही प्रतिनिधित्व गर्ने अभियान र क्रियाकलापलाई बढावा दिन आवश्यक छ। यसतर्फ सन्निकट रहेको पहिलो महाधिवेशनले पार्टीलाई स्पष्ट निशानिर्देश गर्ने नै छ। महाधिवेशन अघि पार्टीपंक्ति एवं जनस्तरले मुख्य तीन क्षेत्रमा हामीबाट सक्रियता र सुझबुझपूर्ण भूमिकाको अपेक्षा गरेका छन्,' दस्तावेजमा उल्लेख छ।
रास्वपाले भएका पार्टी संरचनालाई चलायमान र सुदृढ बनाउने सबै पालिका र वडामा पार्टी विस्तार गर्ने लक्ष्य पनि राखेको छ।
समितिमा संगठनसहित सदस्यहरूलाई नीति–विचार, सांगठनिक संरचना, राजनीतिक संस्कार र रास्वपा 'स्कूलिङ' बारे प्रशिक्षित गर्ने पनि प्रतिवेदनमा भनिएको छ।
'पार्टी कामका प्राथमिकता क्षेत्र निर्धारण गरी केन्द्रदेखि जिल्लासम्मका पदाधिकारी र सदस्यलाई परिभाषित जिम्मेवारी (विषयगत वा भूगोल) दिने। पार्टीको आर्थिक व्यवस्थापनका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्ने। स्थानीय समितिहरू मार्फत नै जनस्तरमा अन्तरक्रिया बढाउने, अभियान चलाउने र नागरिकका मुद्दा/समस्याको पैरवी गर्ने,' प्रतिवेदनमा निर्देश गर्दै भनिएको छ।
त्यस्तै सदनको उपस्थितिलाई थप रचनात्मक र बुलन्द बनाउने पनि प्रतिवेदनमा उल्लेख छ। सरकारका गलत क्रियाकलापविरूद्ध निरन्तर खबरदारी गर्न संसदलाई उपयोग गर्ने रास्वपाले बताएको छ।
'सत्तापक्षबाट हुन सक्ने बलमिच्याइँको प्रतिवाद गर्ने। नागरिकका मुद्दा र समस्याको सार्थक पैरवी गरिरहने। संसदीय दलको निर्णयअनुसार गैरसरकारी विधेयक र सार्वजनिक महत्वका प्रस्ताव लैजाने। कानुन बनाउँदा हुन सक्ने स्वार्थ समूहको चलखेलप्रति चनाखो हुने, भण्डाफोर गर्ने। जनमैत्री कानुन बनाउने गरी विधेयकहरूमा संशोधन हाल्ने। संसदीय समितिमा तथ्य र तर्कपूर्ण उपस्थिति बढाउने। केन्द्रदेखि वडासम्म छाया सरकार बनाउने,' प्रतिवेदनले कामका क्षेत्र किटान गरेको छ।