मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन विकल्पमा छलफल गरिरहेको सभापति रवि लामिछानेले बताएका छन्।
पार्टीको मंगलबारबाट सुरू भएको राष्ट्रिय भेलाको बुधबार अन्तिम दिन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले त्यस्तो बताएका हुन्।
उपचुनावसम्म रास्वपाको योजनाको योग्य उम्मेदवार तयार हुने सम्भावना न्यून भएकाले तीनवटा विकल्पमा छलफल भइरहेको उनले बताए।
‘निर्वाचनमा आफ्नो उम्मेदवार उठाउने, योग्य स्वतन्त्र उम्मेदवारलाई घन्टी चिह्न दिने वा कुनै गैरदलीय स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नेमध्ये एक विकल्प छान्न सक्छौं,’ उनले भने, ‘तयारी र योजनाबिना चुनावमा सहभागी हुने कदापी उचित हुँदैन।’
मंसिर १६ गते काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखसहित विभिन्न तहका ४२ रिक्त पदमा उपचुनाव हुँदैछ। काठमाडौं महानगरपालिकाको १६ नम्बर वडामा पनि उपचुनाव हुँदैछ।
आयोजले बुधबार निर्वाचन तालिका पनि स्वीकृत गरिसकेको छ। जसअनुसार असोज १०देखि १६ गतेसम्म दल दर्ता गर्ने कार्यतालिका छ।