संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संविधान संशोधन दुई दलले मात्रै गरेर सम्भव नहुने बताएका छन्।
बुधबार काठमाडौंमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको संविधान र संस्कृति विषयक अन्तर्क्रियामा बोल्दै उनले देश गम्भीर संकटमा रहेकाले नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपरेको बताएका हुन्।
उनले कांग्रेस र एमाले एक ठाउँमा उभिनुलाई राजनीतिक रूपमा मात्रै बुझ्न नहुने बताए।
उनले साना दलहरूलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने भन्ने जस्ता भ्रम फैल्याएर राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले भ्रम फिँजाइएको बताए।
उनले ०८४ मा दुई दल प्रतिस्पर्धी गर्नेकुरा अवश्यम्भावी रहेको उल्लेख गर्दै आफ्नो इगोलाई बिर्सिएर देश विकासमा लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरे।
आफ्ना आग्रह र पूर्वाग्रहहरूलाई, प्रतिस्पर्धालाई युद्धविराम गरेर नै कांग्रेस र एमालेले देशको नेतृत्व गरिरहेको बताए।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएका छन्। यो दुई पार्टी एक ठाउँमा आउने कुरालाई हामीले केवल राजनीतिक अर्थमा बुझ्यौं, अथवा कांग्रेस, एमाले लगायतका दलले राजनीतिक अर्थमा बुझे, अरू साना दलहरूलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने, फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले मात्रै हामीले बुझ्यौं भने हामीले यो संस्कृतिको प्रतिनिधित्व गरेको, सम्मान गरेको भन्ने बुझिँदैन। दुई वटा ठूला दल एक ठाउँमा आउनुको अर्थ के हो भने ०८४ मा दुई दल प्रतिस्पर्धा गर्ने कुरा अवश्यम्भावी छ। सदावाहर ०४८ पछि प्रतिस्पर्धा गर्ने यी दुई दलहरू हुन्।’
उनले अगाडि भने, ‘यी दुई दलहरू एक ठाउँमा आउनुको अर्थ देश अप्ठ्यारोमा छ। हामी एक ठाउँमा, हाम्रा आफ्ना इगोहरूलाई हाम्रो, आफ्ना आग्रह र पूर्वाग्रहहरूलाई, प्रतिष्पर्धालाई तिनलाई हामीले अहिले युद्धविराम गरेर तिनलाई स्थगन गरेर हामी देशको परिवर्तन चाहन्छौं। हामीले संविधान संशोधनको कुरा गर्ने सन्दर्भमा दुई दलले मात्रै संविधान संशोधन गरेर सम्भव पनि छैन। त्यसमा माओवादीको, समाजवादीको, राप्रपा, रास्वपा, जसपा, लोसपा सबैको साथ र सहयोग चाहिन्छ। ती हिसाबले पनि यी दुई दल एक ठाउँमा उभिनुको अर्थ हो। दुई वटा मूल दल प्रतिस्पर्धा गर्दैछन् भने हामी जोजो जहाँ छौं, हामी विद्यार्थी राजनीति गर्दैछौं भने त्यहाँ पनि तिक्ततालाई कम गर्नुपर्छ। कर्मचारीमा छौं भने त्यहाँ पनि तिक्ततालाई कमी गर्नुपर्छ।’
देशभक्तिको स्वार्थमा सबै केन्द्रित हुनसके संविधानले बोकेको संस्कृतिको सम्मान हुने बताए। राजनीति एउटा आदर्शको बाटो समातेर अघि बढ्नुपर्ने बताए। –न्युज एजेन्सी नेपाल