कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बुधबार प्रदेश सभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेश सभाका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार चलाइरहेका कारण मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाएका हुन्।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका थिए। उनले प्रस्तुत गरेको प्रस्तावको पक्षमा ६६ मत प्राप्त भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका छन्।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत वैशाख २७ मा मुख्यमन्त्री नियुक्त एमाले नेता कार्कीले पहिलोपटक वैशाख ३१ मा विश्वासको मत लिएका थिए। त्यसबेलाको सहयात्री नेकपा माओवादी केन्द्रले भदौ १४ मा समर्थन फिर्ता लिएपछि कार्कीले बुधबार फेरि विश्वासको मत लिएका हुन्।
आजको बैठकमा ९३ सदस्यीय प्रदेशसभामका ८३ जना उपस्थित थिए। बहुमतका लागि ४७ मत आवश्यक पर्छ।
सभामुख विष्टका अनुसार मुख्यमन्त्रीले पेश गरेको विश्वासको मतको विपक्षमा १५ मत र मत दिन्न भन्ने सांसद २ जना रहे।
कोशीमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा उभिएका छन्। नेकपा एकीकृत समाजवादीले मत नदिने निर्णय लिँदा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बू बैठकमा अनुपस्थित रहेकी थिइन्। जसपा विभाजित बनेपछि अशोक राई नेतृत्वको पार्टीमा सामेल भएकी सांसद लिम्बू सरकारले विश्वासको मत लिने दिन अनुपस्थित रहेकी हुन्।