नेकपा (एमाले) ले पार्टी शुद्धीकरणका लागि पाँचबुदे आचारसंहिता जारी गरेको छ।
पार्टीको वार्षिक कार्ययोजनामार्फत आर्थिक अनियमितता भ्रष्टाचार, नैतिक आचरणका सन्दर्भमा एमाले पाँचबुदे निर्देशन दिएको हो।
एमालेले पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखापर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ।
‘हामीलाई बुर्जुवा कार्यशैली वा जीवनशैली अपनाउने छुट छैन। हाम्रो कार्यशैली र जीवनशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ। हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमाअनुकूल हुनुपर्छ। जनताले उचित नठान्ने काम कारबाहीबाट हामीहरू जोगिनुपर्छ। तर पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखापर्न थालेका छन्। आफूलाई अरुभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखापरेका छन् । प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलापसमेत देखापर्न थालेका छन् । आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किंदै छन्। यस्तो प्रवृत्तिले नेता, कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको छ,’ एमालेले वार्षिक कार्ययोजनामार्फत आचारसंहिता जारी गर्दै भनेको छ।
आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूका सन्दर्भमा अनावश्यक उदारता या उदासिनता देखाउँदा र यसलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको एमालेले बताएको छ।
एमालेको वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल भई सचिवालयले अन्तिमरूप दिएको थियो।
आचारसंहितामा एमालेले आर्थिक पारदर्शिताका लागि वार्षिक बजेट प्रणालीलाई कडाईका साथ लागू गर्न भनेको छ।
त्यस्तै सबै कमिटीहरूले आर्थिक कारोबार बैङ्किङ प्रणालीमार्फत् गर्न पनि निर्देशन दिएको छ। आर्थिक बक्यौता रहेकाहरू नेता–कार्यकर्तालाई पनि अधिवेशनहरूमा र जननिर्वाचित निकायहरूमा उमेद्वार बन्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्न पनि भनेको छ।
आर्थिक अनियमितता, भ्रष्टाचार, नैतिक आचरणका आरोपी स्वयंले आफूमाथि लागेको आरोपका सत्य–तथ्यका बारेमा पहिलो जानकारी पार्टीलाई गराउने प्रणाली विकास गर्न निर्देशन दिएको छ ।
राजनीतिक रूपमा प्रतिशोध साँध्न लगाइने झूटा आरोप र अफवाहको पार्टीले प्रतिवाद गर्ने पनि महासचिवले जारी गरेको कार्ययोजनामा उल्लेख छ।
मुद्दाको प्रकृति हेरी मुद्दा चलाइएकाहरूले कानुनबमोजिमको छानबिनमा राज्यका निकायहरूलाई सहयोग गर्ने । फैसला नभएसम्म बहाल रहेको पदबाट निलम्बन गर्ने, दोषी ठहरिएमा मात्र पदमुक्त गर्ने भनिएको छ।
पार्टी तथा जनसंगठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीको तर्फबाट राजकीय तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रश्नको प्रकृति हेरी पार्टीको तर्फबाट तत्काल अध्ययन गरी सो सम्बन्धी धारणा सार्वजनिक गर्ने एमालेले बताएको छ।
पार्टी जीवनको शुद्धीकरणसम्बन्धी पार्टीका निर्णय र जारी आचारसंहिताको कडाइका साथ पालना गर्ने/गराउन पनि तहगत कमिटीलाई एमालेले निर्देशन दिएको छ।