नेकपा (एमाले) ले केन्द्रीय कार्यालय भवन बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ।
भदौ १८ र १९ गते बसेको पोलिटब्युरो बैठकमा पेस भएको र सचिवालयले अन्तिम रूप दिएको वार्षिक कार्ययोजनामा केन्द्रीय कार्यालय बनाउने कुरालाई प्राथमिकताका साथ राखिएको छ।
एमालेले आगामी मंसिरभित्र पार्टीको केन्द्रीय कार्यालय भवन बनाउनका लागि उपयुक्त जग्गाको पहिचान र व्यवस्थापन गरिसक्ने कार्ययोजनामा उल्लेख छ।
त्यस्तै पार्टीको निर्णयबमोजिम पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि स्रोत संकलन गर्ने कामलाई अभियानका रूपमा अघि बढाउने पनि योजनाका रूपमा अघि सारिएको छ।
केन्द्रीय कार्यालय बनाउन एमालेले अहिले सदस्यहरूबाट १०० रुपैयाँ उठाउँदै आएको छ।
सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम १०० रूपैयाँ संकलन गर्ने कामलाई यथाशीघ्र कार्यान्वयन गर्न पनि एमालेले तहगत कमिटीलाई निर्देशन दिएको छ।
यस्तै, थप आर्थिक सहयोग गर्ने पार्टी कार्यकर्ता र सहयोग गर्न सक्ने अन्य सहयोगीहरूको रोस्टर तयार गरी पार्टी केन्द्रमा पठाउन भनिएको छ। पार्टी केन्द्रको योजना र निर्देशनअनुसार थप सहयोग संकलन गर्ने पनि कार्ययोजनामा उल्लेख छ।
पार्टी कार्यालय भवन निर्माण र स्रोत परिचालनका लागि केन्द्रीय सचिवालयले आवश्यक समिति गठन गरी यथाशीघ्र कार्य आरम्भ गर्ने पनि योजनामा उल्लेख छ।
संगठन विभागका अनुसार एमालेको संगठित सदस्य साढे पाँच लाख हाराहारी छन्। उनीहरूबाट सय रूपैयाँ उठाएर एमालेले केन्द्रीय कार्यालय बनाउन लागेको हो।
२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी मुख्यालय क्षतिग्रस्त तुल्याएपछि एमाले भाडाको घरमा बस्दै आएको छ।
यसअघि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो।
सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा एमालेलाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो। थापाथलीमा एमाले व्यापारी सञ्जय अग्रवालको घरमा भाडामा बसेको थियो। अहिले पनि त्यहाँ एमालेको उद्योग विभाग छ।
केन्द्रीय कार्यालय चाहिँ त्यहाँबाट सारेर २०७९ वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुर्याइएको थियो।
तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो। यद्यपि यो पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको हो। प्रतिष्ठानले एमालेलाई भोगचलन दिएको भन्दै त्यहाँ पनि आलोचना भएको थियो।
भूकम्पले भत्काएको बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको हो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। पार्टीका अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष र माधव कुमार नेपाल महासचिव थिए।
दुवै जना प्रधानमन्त्री र परराष्ट्रमन्त्री भएर सरकारमा गएकाबेला वामदेव गौतम कार्यवाहक महासचिव थिए। उनैको नेतृत्वमा त्यो भवन बनेको थियो।
यसबीचमा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा भवन निर्माण उपसमिति समेत बनाएर रकम संकलन गरेको थियो। भवनको शिलान्यास भने हुन सकेन।
बल्खुमा झन्डै सात रोपनी हाराहारीमा जग्गा रहेको एमालेले बताएको छ।
एमालेले २०७२ अगाडि नै बल्खु पार्टी कार्यालयका लागि अपुग भएको भन्दै पार्टी कार्यालय सार्ने कार्ययोजना तयार पारेको थियो। तत्कालीन महासचिव ईश्वर पोखरेलले त्यो कार्ययोजना पेस गरेका थिए।
‘विनाशकारी भूकम्पले बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि हाम्रो पार्टी भाडामा सञ्चालन हुँदै आएको छ। हाम्रो जस्तो पार्टीका लागि भाडाको भवन हाम्रो आवश्यकता अनुसारको हुने अवस्था छैन। पार्टीले आफ्नै कार्यालय भवन बनाउने गरी पार्टी सदस्यबाट न्यूनतम १०० रूपैयाँ उठाउने अभियान सुरू गरेको छ। थप सहयोग गर्न चाहने र सक्ने सहयोगीहरूबाट सहयोग लिएर सुविधासम्पन्न आधुनिक पार्टी कार्यालय भवन निर्माण गर्ने पार्टीको योजना रहेको छ,’ कार्ययोजनामा उल्लेख छ।