उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत अपचलन प्रकरणमा संसदीय समितिले दिएको सुझावलाई आधार मानेर सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन्।
बुधवार गणेशमान सिंहको २७ औं पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसँग उपप्रधानमन्त्री सिंहले संसदीय समितिले दिएको सुझावलाई आधार मानेर मन्त्रीपरिषदमा छलफल गरी चाँडै नै विधि र प्रक्रियाअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्।
‘सभामुखले सरकारलाई कार्यान्वयनमा लैजानका लागि निर्देशन दिनुभएको छ । सरकारले रिपोर्टको अध्ययन गरेर, संसदीय समितिले रिपोर्ट दिएकाले त्यो सुझावलाई आधार मानेर मन्त्रीपरिषद्मा छलफल भएर चाँडै नै विधि र प्रक्रियाअनुसार अघि बढ्छ,’ उनले भने।
समितिले आफ्नो काम सकाएर सरकारलाई निर्देशन दिइसकेकाले अब सरकारले प्रक्रिया पूरा गरी अघि बढाउने उपप्रधानमन्त्री सिंहले बताए।
कार्यक्रममा उनले गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसहित पुष्पगुच्छासमेत अर्पण गरे। गणेशमानले नेपालमा प्रजातन्त्र स्थापना गर्न र त्यसपछि पनि प्रजातन्त्रको संरक्षणका लागि नेतृत्वदायी भुमिका खेलेको उनले बताए। (न्युज एजेन्सी नेपालबाट)