लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका राजेन्द्र महतोले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय मुक्ति क्रान्ति राष्ट्रिय समितिको बैठकमा महतोले राष्ट्रिय मुक्ति क्रान्ति पार्टी घोषणा गरे भने उक्त पार्टीको अध्यक्ष आफू नै रहने बताए।
महतोका अनुसार छिट्टै यो पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ।
पार्टीमा को-को रहनेछन् खुलिसकेको छैन। यद्यपि राष्ट्रिय मुक्ति क्रान्तिका नाममा महतोले विगत ६ महिनादेखि कार्यक्रम गर्दा देखिनेमध्ये सुमन सायमि पनि हुन्।
सायमि काठमाडौंको नेवा भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा आन्दोलनमा होमिएका व्यक्ति हुन्।
उनी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा आँखीझ्याल (तिकिझ्याः) चिह्न लिएर उठेका थिए।
त्यसबेला उनले १३ हजार ७ सय ७० मत ल्याएर पराजित भए।
सोही वर्ष मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उनी उम्मेदवार बनेर पराजित भए। उनले ६ हजार एक सय ७४ मत ल्याएका थिए।
महतोले गठन गर्न लागेको पार्टीमा सायमि कुन भूमिकामा रहन्छन् प्रष्ट छैन। यद्यपी राष्ट्रिय मुक्ति क्रान्ति राष्ट्रिय समिति बैठक र पार्टी घोषणा कार्यक्रममा उनी महतोसँगै देखिएका छन्।
सायमि पछिल्लो समय काठमाडौं उपत्यकाभित्रका नदी तथा खोलाको मापदण्डमा सर्वोच्च अदालतले दिएको फैसला पुनरवलोकनका पक्षमा पनि उभिएका छन्। सर्वोच्चको फैसला पुनरवलोकन गर्ने मागसहितका संघर्ष र प्रदर्शनमा उनी लागेका छन्।
यो पनि: राजेन्द्र महतोले घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति पार्टी