नेकपा एमाले लुम्बिनी संसदीय दलले प्रदेशसभा सदस्यहरूलाई आचारसंहिता लागु गरेको छ।
मंगलबार राप्ति उपत्यका देउखुरीमा बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्यहरूलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको हो।
एमाले प्रदेश सभासदको विधान २०७५ बमोजिम संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए।
दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो।
नयाँ ढंगले काम गर्दा आफै इमानदार हुनुपर्ने भन्दै नैतिक आचरणलाई सिद्धान्तको रूपमा लिइएको श्रेष्ठले जानकारी दिए।
सस्तो लोकप्रियता आर्जन गर्ने कार्यमा लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, अनधिकृत आर्थिक प्रलोभन तथा भ्रष्टाचार जस्ता क्रियाकलापबाट मुक्त हुने लगायत आचारसंहितामा प्रमुखताका साथ समावेश गरिएको छ।
सबै तहका जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने खालका कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका मुख्य कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने र जिम्मेवारीमा भएको भए पनि अलग हुन आचारसंहिताले निर्देशित गरेको छ।
लैंगिक यौनजन्य विभेद, अशिष्ट अभिव्यक्ति जस्ता दुर्व्यवहार गर्न नपाइने, नैतिक आचरण, असल शासनका हरेक पक्षमा जिम्मेवार, पारदर्शी र कुशल जनप्रतिनिधिको रूपमा स्थापित हुनुपर्ने, उच्छृङ्खल र अराजक गतिविधि एवं सामाजिक सञ्जालमा पार्टी नीति विपरीत क्रियाकलाप गर्न नहुने पनि आचारसंहितामा उल्लेख छ।
प्रदेशसभाको नियमित बैठक तथा तोकिएको संसदीय समिति तथा उपसमितिका बैठकहरूमा अनिवार्य उपस्थित रहनुपर्ने, संसदीय समितिहरुका कार्यसूची माथी भएका छलफल, बहसहरुमा भएका निष्कर्ष, निर्णयहरू दलको कार्यालयमा जानकारी दिनुपर्ने, वर्तमान संयुक्त सरकारले सबै दलहरूप्रति समन्वय र सहकार्यको नेतृत्व गर्दै नियमित रूपमा साप्ताहिक र मासिक कार्यप्रगति प्रतिवेदन हरेक जिम्मेवार पदाधिकारी, सदस्यहरू तथा मन्त्रीहरूले सम्बन्धित सरोकारवाला निकायमा बुझाउनुपर्ने, प्रदेश सरकार, मन्त्री परिषद्को काम, कर्तव्य अधिकार र प्रदेशसभा वा प्रदेशसभा दल प्रतिको जवाफदेहिताको पूर्ण पालना गर्नुपर्ने आचारसंहितामा छन्।
त्यस्तै, प्रदेश सभामा उठेका विषय र प्रश्नोत्तरका सन्दर्भमा विषयगत मन्त्रालय तथा सरकारको जवाफदेहिता, पालना प्रदेशसभा नियमावली बमोजिम कार्यान्वयन गरेको हुनुपर्ने, तोकिएको परिभाषित तथा प्रशासनिक कार्यभार प्रति अनुत्तरदायी भई झिना मसिना कार्यमा संलग्न नहुन आचारसंहिताले निर्देशन गरेको छ।