नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विधानलाई अन्तिम रूप दिएर चैतभित्रै महाधिवेशन गर्ने गरी तयारी गरेको छ।
अध्यक्ष दुजाङ शेर्पाले मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै दसैंअघि नै विधानलाई अन्तिम रूप दिइने बताए।
‘दसैंअघि नै विधानलाई अन्तिम रूप दिन्छौं, पार्टीले पनि छिट्टै निर्देशक समिति बनाउँछ,’ अध्यक्ष शेर्पाले भने, ‘चैतभित्रै नेविसंघको १२ औं महाधिवेशन गर्ने गरी अघि बढेका छौं।’
महाधिवेशन गर्नका लागि धेरै खर्च लाग्ने भएकोले पनि कांग्रेस भ्रातृ संस्थाका अधिवेशनबाट हच्कँदै आएको छ। तर हालैको केन्द्रीय समितिले नियमित महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाका महाधिवेशन गराउन निर्देशक समिति गठनको निर्णय गरेको थियो।
नेविसंघमा महाधिवेशन गर्दा १२ करोड रुपैयाँसम्म खर्च भएको थियो। अध्यक्ष शेर्पाका अनुसार यति धेरै खर्च गर्ने गरी अब महाधिवेशन गराउन पार्टी तयार भने छैन।
‘सकेसम्म थौरै प्रतिनिधि सहभागी गराएर थौरै खर्चमा सक्ने गरी महाधिवेशन गर्ने पक्षमा हामी छौं,’ उनले भने।
पार्टीले निर्देशक समिति बनाएपछि ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने र अधिवेशनका काम अघि बढाइने उनले जानकारी दिए।
सभापति शेरबहादुर देउवा पनि नेविसंघ महाधिवेशन गराउन सकारात्मक देखिएको उनको भनाइ छ।
नेविसंघले जय नेपाल कप र मावि तहमा मेरो शिक्षा, मेरो प्रश्न जस्ता अभियान सञ्चालनको तयारी गरेको उनले बताएका छन्।
‘हामी शैक्षिक मुद्दामै केन्द्रित रहन्छौं,’ उनले भने, ‘विश्वविद्यालयहरू तालाबन्दी गर्ने, मोसो दल्नेजस्ता गतिविधि नगर्न हामीले निर्देशन नै दिइसकिएको छ,’ उनले भने।
कांग्रेसले नेविसंघको १२ औं महाधिवेशन गराउन शेर्पाको नेतृत्वमा ७१० सदस्यीय तदर्थ समिति गठन गरेको थियो।
सोही कार्यक्रममा बोल्दै नेविसंघ प्रवक्ता सुरज सेजुवालले नेविसंघ राजनीतिकसँगै शैक्षिक मुद्दामा पनि केन्द्रित भइरहेको बताए। विद्यार्थीहरूलाई 'पेड इन्टर्नसीप' कार्यक्रममा सहभागी गराइएको उल्लेख गर्दै उनले अझै रचनात्मक कार्यक्रम गर्दै जाने बताए।