राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले छानबिन समितिमार्फत् राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रवि लाछिानेको सहकारीको बचत अपचलनमा संलग्नता नभेटिएको बताएका छन्।
छानबिन समितिले सभापति लामिछानेले सहकारीको बचत अपचलन गरेको कागज र प्रमाण पुगेन भन्दा पनि यसको अपव्याख्या भइरहेको खनालले बताएका छन्।
मंगलबारदेखि सुरू भएको पार्टीका राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
‘सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न छोडिएन। संसदसमेत अवरूद्ध गरियो। र, संसदीय छानबिन बनाइयो। समितिमार्फत् राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि उहाँको संलग्नता भेटिएन, कागज र प्रमाण पुगेन भनिएको हो। तर, यसको अपव्याख्या गर्न थालिएको छ,’ उनले भने, ‘पहिला काँक्रो चोरेको तँ होस् भनेर आरोप लगाइयो। तर, काँक्रो अरूले नै चोरेको रहेछ। ल्याइएको काँक्रो अरूले काटेपछि तैंले पनि एक टुक्रा खाइछस् भन्नु कत्ति न्यायोचित हो? प्रचारचाहिँ यही रूपमा गराइँदैछ।’
उनले छानबिन समितिले गोर्खा मिडियामा पैसा आएको हो तर ल्याउन रवि लामिछानेको संलग्नता नभएको बताए। पैसा आएपछि गोर्खा मिडियाले खर्च गर्दा लामिछाने सहितले केही कैफियत गरेका भए सरकारले कारबाही गरोस् भनेर समितिले सिफारिस गरेको पनि बताए।
‘अब सरकारले सहकारी कानून होइन, कम्पनी कानूनअनुसार गोर्खा मिडियाले गरेको खर्चबारे अनुसन्धान गर्न सक्छ। समितिले कार्यादेश पाएका सहकारीबाट मात्रै ८७ अर्ब रुपैयाँ अपचलन भएको रहेछ। अब हाम्रो (रास्वपा) काम त्यो अपचलन गर्नेको खोजी र उनीहरुलाई कारबाहीको दबाब दिनु हो,’ उनले भने।