नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाहीको माग गरेका छन्।
चौधरीले कालापानी, लिपुलेकसहितको भूभागमा नेपालको दाबी पुग्दैन भन्दै सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाहीको माग गरेका हुन्।
यसबारे पार्टीले मेटमणिलाई स्पष्टीकरणसमेत सोधेको थियो। त्यसको जवाफमा सांसदसमेत रहेका चौधरीले आफ्नो आशय त्यस्तो नरहेको बताएका थिए।
तर खनालले ‘यो भारतीय नागरिक बोल्दैछ कि नेपाली नागरिक?’ भन्दै प्रश्न गरेका छन्।
‘यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो। यो देशद्रोही अभिव्यक्ति पनि हो। यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो। हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो। यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र शुभेच्छुकहरूबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ। आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न,’ उनले भनेका छन्।
पार्टीको उपमहासचि र वहालवाला सांसदबाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको उनले बताएका छन्।
‘उक्त उपमहासचिवको उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टीपंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमा प्रति गम्भीर प्रश्न उठेको छ। आम कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ। यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्ति समक्ष जोडदार माग गर्दछु,’ खनालले भनेका छन्।