राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एक जना महिला उपसभापति रहने गरी विधान संशोधन गर्न केन्द्रीय समिति सहमत भएको छ।
सोमबार अपराह्नबाट सुरू भएको केन्द्रीय समितिको बैठकले उपसभापति तीन जना रहने र एक जना महिला अनिवार्य गर्ने प्रावधानमा सहमति जुटाएको हो। रास्वपामा अहिले स्वर्णिम वाग्ले र डोलप्रसाद (डिपी) अर्याल उपसभापति छन्।
त्यस्तै केन्द्रीय समितिसहित सम्पूर्ण पदाधिकारी महाधिवेशनको हलबाट निर्वाचित गर्ने समझदारी जुटेको कार्यवाहक प्रवक्ता मनीष झाले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार १०१ जना सदस्य महाधिवेशन हलबाट निर्वाचित हुनेछन्। बाँकी २० जना केन्द्रीय समितिले मनोनीत गर्नेछ।
रास्वपाको मौजुदा विधानमा १२१ सदस्यीय केन्द्रीय समिति रहने नै प्रावधान छ।
कार्यवाहक प्रवक्ता झाले अरू पदमा पनि महिलाको सहभागितालाई सुनिश्चित गरेको जानकारी दिए। उनका अनुसार दुई जना सहमहामन्त्री, सहप्रवक्ता दुई जना राख्दा एक महिला निर्वाचिन गर्ने प्रावधान राख्न सहमति जुटेको छ।
‘पदाधिकारीमा जनसंख्याको आधारमा क्लस्टर छुट्टयाएर निर्वाचित गर्नुपर्छ भन्ने पनि प्रस्ताव आएको थियो। त्यसमा छलफल भयो। तर कतिपय विषय महाधिवेशनबाट निर्वाचित भएर आउने कमिटीले लागू गर्ने कुरा अहिले नै किन छलफल गर्ने, उनीहरूको विशेषाधिकार पनि रहन्छ नि त भन्ने कुरा पनि भयो,' उनले भने।
विधान संशोधन सुझाव कार्यदलले प्रस्तुत गरेका कतिपय विषयमा अहिले पनि छलफल जारी रहेको उनले बताए।
रास्वपाको पहिलो राष्ट्रिय भेला मंगलबारबाट सुरू हुँदैछ। बुधबारसम्म काठमाडौंको प्रज्ञा भवनमा चल्ने भेलामा १५ सय प्रतिनिधि रहनेछन्।
भेलामा विधान संशोधन, राजनीतिक प्रतिवेदन लगायत केही प्रस्तावहरू पेस हुनेछन्।