नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई एक लाख रुपैयाँ सहयोग गरेको छ।
केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु शिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थीको उपस्थितिमा रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कँडेलले कांग्रेस महामन्त्री गगन थापालाई एक लाख एक रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
सो अवसरमा महामन्त्री थापाले रचनात्मक काम गरेकोमा रूपन्देही युनियनको उच्च प्रशंसा गर्दै धन्यवाद दिएका थिए।
कार्यक्रममा युनियनका केन्द्रीय सदस्य नवीन पन्थीले कर्मचारीले उठाउँदै आएका विषयलाई सम्बोधन गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा थप पहल गर्न कांग्रेस महामन्त्री थापालाई आग्रह गरेका थिए।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष पाण्डेले पुस्तकालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए।