ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले भारत सरकारले आफ्नो सामाजिक सञ्जाल एक्सको खाता बन्द गराउन रिपोर्ट गरेको दाबी गरेका छन्।
एक्सले पठाएको मेसेज सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले भारत सरकारले आफ्नो खाता बन्द गराउन खोजेको बताएका हुन्।
उनले एक्समा राखेका सामग्री भारतको सूचना प्रविधि सम्बन्धी ऐन २००० को विरूद्धमा रहेको भन्दै भारत सरकारले रिपोर्ट गरेको सूचना एक्सले नेपाललाई पठाएको थियो।
नेपालले आफूले ग्रेटर नेपालको पक्षमा बोल्दा भारतलाई अप्ठ्यारो परेको बताए।
‘भारतले आफूलाई विश्वभरको प्रजातन्त्रिक भन्छ, मेरो ट्वीट भारतभर हेर्न नपाउने बनाएको रहेछ,’ नेपालले सेतोपाटीसँग भने, ‘धन्न ट्वीटरले सूचना दियो। मजस्तो व्यक्तिको पछाडि भारत सरकार नै लाग्नुको कारण के रहेछ बुझ्न सकिनँ।’
नेपालले पछिल्लो समय भारतका विरूद्ध अभिव्यक्ति दिँदै आएका थिए। उनको पछिल्लो ट्वीट भारतीय दूतावासले नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई प्रयोग गरेर कालापानीका विषयमा बोल्न लगाएको बताएका थिए।