राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सहकारीको बचत हिनामिनामा रवि लामिछानेको संलग्नता नदेखिएको तर गोर्खा मिडियामा आएको रकम परिचालनमा उनको संलग्नता देखिएकाले छानबिन र कारबाहीको सिफारिस भएको बताएका छन्।
सहकारी संस्था बचत रकम दुरूपयोग छानबिन गर्न गठित समितिले त्यही आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिएको र सदस्यहरूले हस्ताक्षर गरेको कार्यदलका सदस्यसमेत रहेका खनालले बताए।
‘हामीलाई कार्यादेशमै सहकारीबाट भएको रकमको प्रवाह हेर भनिएको थियो। गोर्खा मिडियाको हकमा को–को संलग्न छन् हेर्नु भनिएको थियो। रवि लामिछानेले सहकारीबाट कम्पनी र सहकारीबाट व्यक्तिको नाममा प्रवाह गर्ने कुरामा तथ्य प्रमाणले पुष्टि गर्न सकेन। तर सहकारीहरूबाट गोर्खा मिडियामा पैसा गएको तथ्य–प्रमाण फेला पर्यो। त्यसमा मुख्य रूपमा जिबी राईको भूमिका देखियो। गोर्खा मिडियाको अडिट रिपोर्टमै त्यो कुरा उल्लेख छ। अडिट रिपोर्टमा पैसा मैले ल्याएको हुँ भन्नुभएको छ,’ उनले भने।
सहकारीबाट पैसा ल्याउँदाका बखत रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएको र उनले चेकमा हस्ताक्षर गरेर कारोबार गरेको देखिएको खनालले बताए।
‘रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतले, उहाँले जतिञ्जेल काम गर्नुभयो, त्यसमा केही उत्तरदायित्व, जिम्मेवारी वहन गर्नुपर्छ भन्ने पनि देखियो। त्यससम्बन्धमा प्रतिवेदनमा आवश्यक कारबाही अगाडि बढाउनू भन्ने भाषा प्रयोग भएको छ। त्यो भनेको पैसा गयो। उहाँले लगेको होइन। तर कम्पनीमा हुँदा उहाँले चेकमा हस्ताक्षर गरेर मिडिया चलाउनुभयो। चेकमा उहाँको हस्ताक्षर देखियो। त्यो तथ्यका आधारमा कारबाही गर्दा कुन कानुन आकर्षित हुन्छ सोहीअनुसार गर्नुभन्ने आशय छ,’ उनले भने।
उनले प्रतिवेदनमा आफ्नो फरक मत नरहेको पनि बताए।
‘यो समिति किन बन्यो भने रवि लामिछानेले नै गोर्खा मिडियामा पैसा ल्याउनुभयो, करोड, करोड उहाँको खातामा आयो। पैसा ल्याउने क्रममा योजनाबद्ध ढंगले लाग्नुभयो भन्ने जुन आरोप थियो, त्यसमा तथ्य प्रमाण छन् भनियो। संसद् अवरूद्ध भयो। संसदीय छानबिन समिति बन्यो। तर त्यसमा रवि लामिछानेको संलग्नता देखिएन। मूल आरोपमा उहाँलाई समितिले उन्मुक्ति दियो,’ खनालले दाबी गरे।
आरोपलाई पुष्टि गर्ने तथ्य नभेटेपछि गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा चेक हस्ताक्षर गरेकोतिर समिति गएको उनले बताए।
‘त्यो कुरा हामीले पनि मान्यौं। सबै तथ्यले हेर्दा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा पैसा गएको छ। आज छानबिन समितिको आँखाबाट हेर्दा त्यो तथ्य देखिन्छ। यदि त्यसबाट कुनै उत्तरदायित्व सिर्जना हुन्छ भने त्यो लिनुपर्छ। त्यसको जिम्मेवारी बोध गर्नुपर्छ भन्ने अर्थमा गएपछि मैले पनि मानेँ। त्यसलाई कसैले नकारेको छैन। आइसकेको पैसामा कुनै उत्तरदायित्व सिर्जना हुन्छ भने त्यो लिनुप¥यो। अनुसन्धान गर्नुपर्यो। एउटा अवधिमा उहाँ प्रबन्ध निर्देशक हुनुभयो। कम्पनीमा उहाँको १५ प्रतिशत सेयर थियो भनेर त्यसबराबरको उत्तरदायित्व लिनुपर्ने कुरामा हामी सहमत छौं,’ उनले भने।
छानबिन समितिले प्रतिवेदन संसदमा बुझाएको छ। प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले उक्त समिति गठन गरेको हो।
समितिलाई तीन महिनाको समयावधि दिएकामा १५ दिन थप गरिएको थियो।
समितिमा नेपाली कांग्रेसबाट दिलेन्द्र बढू (बद्री पाण्डे रहेकामा उनी मन्त्री बनेपछि बडुलाई बनाइएको), ईश्वरी न्यौपाने, नेकपा (एमाले) बाट सावित्रा भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।