नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली विदेश जाने विषय सदनलाई जानकारी गराउँदा अवरोध नगर्ने बताएका छन्।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संसद बैठक चल्न दिने बताएका हुन्।
‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं। तर प्रम विदेश जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौं। सभामुखको विरोधमा छैनौं। हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं,’ उनले बैठकमा भने।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची छ। आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउने छन्।
प्रधानमन्त्री ओली यही असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औं म हासभामा भाग लिन अमेरिका जाँदैछन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा त्यहाँ राख्ने एजेन्डाबारे सदनलाई सूसूचित गराउने प्रचलन रहेकाले त्यसलाई अवरोध गर्न नहुने निष्कर्षमा पुगेको माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले पनि बताए।
‘संयुक्त राष्ट्रसंघको महासभामा जाँदा सदनलाई जानकारी गराउने हाम्रो निष्कर्ष छ,’ उनले भने।
गत भदौ १२ गते संसदमा बोल्ने क्रममा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले ‘जनयुद्ध’लाई हिंसाको संज्ञा दिएका थिए।
त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ध्यानाकर्षण भएको बताउँदै संसदको अभिलेखबाट हटाउन माग गरेका थिए।
त्यसमाथि निर्णय गर्दै सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नरहेको बताएपछि माओवादीले संसद अवरूद्ध गर्दै आएको छ।