लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ। सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्ष र सदस्यहरू नियुक्त गरेको हो।
आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका-८ का डिल्लीराज अर्याल नियुक्त भएका छन्।
चार सदस्यहरूमा रोल्पाका डा. सुदनकुमार वली, दाङका भुवन चौधरी र रूपन्देहीका शान्तादेवी ढकाललाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।
यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर-४ चिराघाटबाट परिवर्तन गरी सोही गाउँपालिकाको केन्द्र वडा नं. ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ।
गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो।
यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिफेक्चर, बुङ्गोओनो शहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागी नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको पन्थीले जानकारी दिए।