लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशका सांसद जितेन्द्रप्रसाद सोनललाई स्पष्टीकरण सोधेको छ।
पार्टीको अनुशासन परम्परा र विधान विपरीत आफूखुसी संसदीय दलको नेता घोषणा गरेको र मधेस प्रदेश सभालाईसमेत जानकारी गराएको भन्दै उनलाई स्पष्टीकरण सोधेको हो। पार्टी अध्यक्ष महन्थ ठाकुरले नै सांसद सोनललाई स्पष्टीकरण सोधेका हुन्।
उनलाई तीन दिनभित्र जवाफ पेश गर्न भनिएको छ।
‘पार्टीको निर्देशन र मनसायविपरीत जयनुल राइनको अध्यक्षतामा दलको बैठक बोलाई आफूलाई नै संसदिय दलको नेता घोषित गरी सभामुख समक्ष पेश गरेको कदापी मान्य नहुने साथै तपाईंमाथि अनुशासनको कारबाही किन नगर्ने भन्ने यो पत्र प्राप्त गरेको ३ दिनभित्र त्यसको कारण खुलाइ लिखित जवाफ मागिएको छ,’ अध्यक्ष ठाकुरले सोधेको स्पष्टीकरणमा भनिएको छ।
गत भदौ १४ गते संसदीय दलको ज्येष्ठ सदस्य जयनुल राइनको अध्यक्षमा बैठक बसेर सोनारलाई संसदीय दलको नेता बनाइएको थियो। लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेपछि उक्त पद खाली थियो।
शर्मा गत वैशाख १८ गते निलम्बित भएका थिए।
सशस्त्र प्रहरीका असई थमन विक हत्या आरोपमा महोत्तरी जिल्ला अदालतबाट शर्मालाई जन्मकैद फैसला भएपछि उनी निलम्बनमा परेका हुन्।