ललितपुरको कुपण्डोलस्थित सडक भ्वाङ परेको घटनामा छानबिन गर्न समिति गठन भएको छ।
खानेपानी मन्त्री प्रदीप यादवले पाइपलाइन फुटेर क्षति पुर्याएकोबारे अध्ययन र अनुसन्धान गर्न आइतबार छानबिन समिति गठन गरेको हुन्।
मन्त्री यादवले मन्त्रीस्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइनको समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सह-सचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन्।
उनले समितिलाई उपायसहितको प्रतिवेदन पेश गर्न भनेका छन्।
काठमाडौं उपत्यका बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिनदेखि पाइपलाइन फुट्ने, चुहिएर संरचनात्मक क्षति पुर्याएको छ। यसबारेपनि स्थलगत निरीक्षण गरेर समस्या पत्ता लगाउन उनले समितिलाई निर्देशन दिएका छन्।
समितिले अध्ययन गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले ठोस कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उनले जानकारी दिए।