सरकारले संघीय संसदको दुबै सदन अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको चालू रहेका दुबै अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकार प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्न सिफारिस भएको हो।
संसद अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सारेर दुई बजे हुँदै ३:१५ बजेसम्म पुर्याइएको थियो।
अपराह्न ४ बजेसम्म पनि बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख देवराज घिमिरेले सूचना टाँसेर बैठक स्थगित गरेका थिए।
नेकपा माओवादी केन्द्रले संसदबाट हिंसा शब्द रेकर्डबाट हटाउन माग गर्दै आएको छ। उक्त शब्द रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने माओवादीको अडान छ।