नेकपा (माओवादी केन्द्र) का सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर सदनलाई थप द्वन्द्वतिर नलैजान आग्रह गरेका छन्।
आइतबार माओवादीका सांसदहरू वर्षमान पुन, जनार्दन शर्मा, प्रमुख सचेतक हितराज पाण्डे, देवेन्द्र पौडेल र शक्ति बस्नेतले सभामुख घिमिरेलाई भेटेर अभिभावकीय भूमिका खेल्न आग्रह गरेका हुन्।
‘हामीले आज सभामुखलाई भेटेर यही अवस्थामा सदन चल्न सक्दैन भनेर जानकारी गराएका छौं। हामी थप द्वन्द्व पनि चाहँदैनौं,’ उपमहासचिवसमेत सांसद वर्षमान पुनले सेतोपाटीसँग भने, ‘यो विषय समाधानतिर लैजान भूमिका खेल्नुस्, सभामुखले अभिभावकीय भूमिका खेल्नुपर्छ।’
माओवादीले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभा अवरोध राख्ने निर्णय पनि आइतबारको संसदीय दल बैठकबाट गरेको सांसद देवेन्द्र पौडेलले जानकारी दिए।
नेकपा (एमाले) का सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा माओवादी 'जनयुद्ध' लाई लक्ष्य गरी त्यसबेला हिंसा भएको बताएका थिए। यो अभिव्यक्तिले 'जनयुद्ध' को मानमर्दन गरेको भन्दै रेकर्डबाट हटाउन माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो।
सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि फेरि यो विषयलाई लिएर विवाद भइरहेको छ। एमाले र माओवादीका सांसदहरू यो विषयलाई लिएर आरोपप्रत्यारोपमा छन्।
सभामुख घिमिरेले यसबारे प्रमुख सचेतक र सचेतकहरूसँग आइतबार छलफल गरे पनि निष्कर्षमा पुग्न भने सकेन। हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवादले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि प्रभावित छ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि यस विषय किनारा नलागेसम्म सदन अवरोध कायमै रहने बताएका छन्।
‘माओवादीले उठाएको विषय खाली शब्दमात्र होइन। समग्र जनयुद्धको भाव र त्यहाँ व्यक्त भएका विषयबस्तुसँग सम्बन्धित छ,’ उनले भने, ‘हाम्रो दलले सदन अवरोध जारी राख्छ।’
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुखसँग भेटेर नेकपा माओवादी केन्द्रका सांसदहरुले आजको बैठक अवरोध गर्ने बताएको सेतोपाटीलाई जानकारी दिए।
'उहाँहरुले भोली सदन नियमित गर्ने विषयमा पार्टीमा छलफल गर्ने बताउनुभयो', अधिकारीले भने, 'हामी पनि सदन सुचारु बनाउन भूमिका खेल्छौँ भन्नुभएको छ।'
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरू हुन सकेको छैन।