नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले एक सय दिन नपुग्दै सरकारको विरोध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेका छन्।
प्रजातान्त्रिक मुलुकहरुमा सय दिन पनि नपुग्दै सरकारको विरोध गर्नु, उसको काममा अवरोध गर्ने प्रयास गर्नुलाई उचित मान्न नसकिने उनको भनाइ छ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोलेका उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सत्ताबाट बाहिरिनेबित्तिकै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए।
प्रचण्डले मुलुक बंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको उनको भनाइ छ।
‘हिजोसम्म सत्ता र सरकारमा हुनेहरू सरकारबाट निस्कन पाएको छैन–बंगलादेश र श्रीलंका भन्छौं। अनि त्यसको हिजोसम्मको दोषको भागी लिने कि नलिने? यस्ता अभिव्यक्तिहरूले नेपाली जनतामा भ्रम सृजना गर्छ,’ उनले भने, ‘त्यो भ्रम सृजना गर्ने काम हामी नगरौं। प्रजातन्त्र भनेको अभिव्यक्ति स्वतन्त्रता हो। जे मन लाग्यो, त्यही बोल्ने किसिमको स्वच्छन्दता होइन।’