नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीले फायर खोलेपछि उपसभामुख इन्दिरा रानाको विषय गिजोलिएको बताएका छन्।
आइतबार सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकार र प्रधानमन्त्रीलाई हिलो छ्याप्ने काम गरेको पनि आरोप लगाए।
‘तीन चार महिनाअगाडिबाट उपसभामुखको विषय उठेको छ, केही सांसदहरूले यो विषय उठाउनुभयो। राज्यव्यवस्था समितिमा यो उजुरी पर्यो। त्यसका तर्फबाट हाउसमा उठाउनुभयो। हामीले त्यहीँ थाहा पाएका हौं। उपसभामुखबाट केही अनधिकृत व्यक्तिहरू, जुन कार्यक्रमसँग सम्बन्धित थिएन,’ उनले भने, ‘जग्गासम्बन्धी कारोबार गर्ने व्यक्ति भनेर आएको छ। विभिन्न समयमा विदेश जान खोजेका र रिजेक्ट भएका छन्। उनीहरूको अन्तरवार्ताको मिति सार्न पत्र लेखेको मिडियामार्फत् थाहा पायौं। त्यो उहाँको कमजोरी हो। त्यो कमजोरी भएको विषय सत्ता घटकको बैठकमा उठेको हो। त्यसलाई हामीले बाहिर ल्याएनौं। किनभनेर उपसभामुख आफैमा सम्मानित संस्था हो।’
तर रास्वपाका प्रमुख सचेतबाट फायर खोल्ने काम भएको उनले बताए। कोठाभित्र भएको छलफलमा उठेको विषयलाई रास्वपा आफैले सदनमा ल्याएको बर्तौलाले बताए। त्यसपछि मात्रै सत्तापक्षका सांसदले उपसभामुखले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएको बर्तौलाले बताए।
‘जिम्मेवार राजनीतिक दलका तर्फबाट उपसभामुख पदको हुर्मत लिने गरी कुनै विषय अगाडि बढाउन खोजिएकै छैन। रास्वपाका सांसदले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रधानमन्त्रीतर्फ लक्षित गरेर। लोकतन्त्र च्यात्ने खबरदार हामी सडक आन्दोलन गर्छौं भन्नुभयो,’ उनले भने।
माओवादी केन्द्र, रास्वपाले उपसभामुखको कमजोरी पनि स्वीकार गर्ने र हटाए आन्दोलन पनि गर्छौं भनेपछि विषय गिजोलिन पुगेको उनले बताए।