नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशमा महेश्वर लम्साल नेतृत्वको प्यानल विजयी भएको छ।
शनिबार राति अबेर सम्पन्न मतगणनाबाट नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक ईञ्जिनियर्स नेपाल (सिडेन) को प्यानल नै विजयी भएको हो।
जयलाल मरासिनीले नेतृत्व गरेको नेकपा एमाले निकट प्रगतिशिल समूह (पिन) को प्यानललाई पराजित गर्दै लम्साल नेतृत्वको सिडेनको प्यानल विजयी भएको हो।
नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको थियो। अन्तिम मतगणना अनुसार सभापतिका उम्मेदवार लम्साल ८८४ मत सहित विजयी भएका हुन्। पिनका उम्मेदवार मरासिनीले भने ४४० मत प्राप्त गरेका छन्। लम्सालले मरासिनी भन्दा दोब्बर बढी मत ल्याएका छन्।
त्यस्तै उपसभापतिमा लम्साल समूहका शिव तिवारी ६८२ मत सहित विजयी भएका छन् भने पिनका उम्मेदवार प्रभा पाण्डेले ४९८ मत प्राप्त गरेकी छन्।
सचिवमा लम्साल प्यानलका प्रवेश पौडेलले ७७८ मत ल्याई विजयी हुँदा पिनका उम्मेदवार शिशिर ज्ञवालीले ४४५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
सहसचिवमा पनि सिडेनका संकल्प बुढाथोकी ६९२ मत सहित विजयी भएका छन्। पिनका प्रदिप घिमिरेले ५३४ मत प्राप्त गरेका छन्। त्यस्तै कोषाध्यक्षमा प्रविन सापकोटा ८०१ मतसहित विजयी हुँदा राजु ढकालले ४१० मत प्राप्त गरेका छन्।
यस्तै लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा पनि सिडेन प्यानलका आकाश बर्मा ५३३ मत सहित विजयी भएका छन्। पिनबाट केन्द्रीय सदस्यका उम्मेदवार बलराम पौडेलले ५१३ मत प्राप्त गरेका थिए।
सदस्यहरूमा पनि पिनबाट एक जना निशा बेल्बासे बाहेक अरु सबै सिडेन प्यानलबाट विजयी भएका छन्। विजयी हुनेहरूमा अम्बिका ढुंगाना, सुचित विष्ट, कृतेशकुमार श्रेष्ठ, दिपेश गौतम, कमलराज ढुंगाना, जीवन पाण्डे, दैबग्य जोशी, सुरक्षीत ज्ञवाली र रुपेश परियार रहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार लुम्बिनी प्रदेशमा रहेका कुल मतदाता १ हजार ८१६ मध्ये १ हजार ३५० मात्र मत खसेको थियो। प्रदेशका तिनस्थान दाङ, नेपालगञ्ज र बुटवलमा भएको मतदानमा बुटवलमा ९५२, नेपालगञ्जमा २२२ र दाङमा १७६ मत खसेको थियो।