राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा शनिबार दिउँसो १ बजेदेखि बैठक सुरू हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकका लागि राष्ट्रिय भेलासँग सम्बन्धित ९ एजेन्डा छन्।
पहिलो, समसामयिक राजनीति, आर्थिक र सामाजिक गतिविधिबारे छलफल गर्ने कार्यसूची छ।
त्यस्तै राष्ट्रिय भेलामा सहभागिताका लागि आएका प्रतिनिधिको नाम र रिपोर्ट बारे कार्यवाहक महामन्त्रीबाट अपडेट गर्ने र त्यसपछि राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा छलफल गर्ने कार्यसूची छ।
राष्ट्रिय भेलाको हालसम्मको तयारीबारे उपसमितिले जानकारी प्रस्तुत गर्ने र छलफल गर्ने कार्यसूची रहेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।
त्यस्तै राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू प्रस्ताव र आवश्यक छलफल गरिने, जिल्ला भेला र जिल्ला समिति गठनबारे छलफल गरिने, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने, प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा र अन्य विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए।
रास्वपाले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ।