कोशी प्रदेश सभाका सात वटा विषयगत समितिले शुक्रबार औपचारिक रूपमा नेतृत्व पाएका छन्।
सातै जना सभापतिहरू निर्विरोध चुनिएर शुक्रबार शपथ पनि लिएका छन्।
प्रदेश सभा सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले नवनिर्वाचित सभापतिहरूलाई शपथ गराएका हुन्।
कोशी प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले सातै वटा विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएको जानकारी दिएका थिए।
कोशी प्रदेश सभा नियमावली २०७४ को नियम १३४ अन्तर्गत गठन भएका विषयगत समितिहरूको सभापतिको निर्वाचनमा प्रत्येक समितिमा एक जना मात्रै उम्मेदवार कायम भएकोले नियमावलीको नियम १३४ को उपनियम ५ बमोजिम निर्विरोध निर्वाचित भएको उनले बताए।
निर्वाचित भएपश्चात शपथ ग्रहण गरेका सभापतिहरूले शुक्रबार नै आफ्नो कार्यकक्षमा पद बहाली समेत गरेका छन्।
सातमध्ये एमाले र कांग्रेसले ३–३ वटाको सभापति पाएका छन् भने माओवादीले सार्वजनिक लेखा समितिको नेतृत्व पाएको छ। अरू साना दलहरूले कुनै पनि समितिको नेतृत्व पाएनन्।
न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिको सभापतिमा होम बहादुर थापा चयन भएका हुन्।