पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सम्भव नरहेको बताएका छन्।
शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई सत्ता गठबन्धनले हटाउन खोजे पनि त्यो सम्भव नहुने बताए।
उपसभामुख पनि संवैधानिक परिषद सदस्य रहने भएकोले सत्ता गठबन्धनले उपसभामुखलाई पदबाट हटाउन खोजेको उनको दाबी थियो।
‘सत्तारूढ दलहरूले राजनीतिक कारणले यो विषय उठाउनु भएको छ। उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ। अहिले सरकार परिषदमा अल्पमतमा छ त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उपसभामुखले गरेका त्रुटिका आधारमा हटाउन खोजिएको हो,’ माओवादीका प्रवक्तासमेत र हेका उनले भने, ‘अहिले त अल्पविराम लागेको छ भन्ने मैले सुनेको छु। यो राजनीतिक कुरा हो। उहाँको गल्ती कमजोरी पनि होला। मैले बुझ्न बाँकी छ। तर पनि प्रथम दृष्टिमै विचार गर्दाखेरि त्यो स्तरको उहाँलाई हटाउने नै खालको त्रुटि भएको बुझिँदैन।’
पूर्वसभामुख सापकोटाले उपसभामुख राना मगरले संसदको गरिमा र ओझ भने राख्नुपर्ने बताए।
सत्ता गठबन्धनले उपसभामुखको आचरणमा प्रश्न उठाउँदै प्रतिनिधि सभामा बोल्दै पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।
उपसभामुखलाई पदबाट हटाउन नहुने पक्षमा माओवादी, रास्वपा र राप्रपा उभिएको छ। उपसभामुखलाई दुई तिहाइ सांसदको साथ भए हटाउन सक्ने संवैधानिक व्यवस्था छ।
गत साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिँदा उनलाई दुई तिहाइ बढी सांसदले समर्थन गरेका थिए। सत्तापक्ष सांसद एक हुँदा उपसभामुख हटाउन सकिने सत्ता गठबन्धनका नेताहरू बताउँछन्।
उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो।