नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा दुई वटा मात्रै पार्टी अस्तित्वमा रहने गरी कांग्रेस र एमाले अघि बढेको भन्दै केही नेताहरूले अभिव्यक्ति दिने गरेकोमा त्यसमा सत्यता नरहेको बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्दै बिहीबार सभापति देउवाले अरू पार्टीलाई सिध्याउने उद्देश्य कांग्रेसको नरहेको र एमालेको पनि त्यस्तो नदेखिएको बताएका हुन्।
‘कतिपयले दुई पार्टी मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन् तर त्यस्तो होइन,’ उनले भने, ‘कांग्रेस यस्तो चाहँदैन, एमालेको पनि यस्तो सोच देखेको छैन।’
एमाले र माओवादी एकै ठाउँमा हुँदा कांग्रेस चिन्तित देखेको उल्लेख गरेका सभापति देउवाले यी सबै कुरालाई विचार गरेर एमालेसँग सहकार्य गरिएको बताए।
दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि आफूलाई प्रधानमन्त्री छाड्ने पनि उनको भनाइ छ।
उनले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
‘भोलि सभापति हुने नेताले पनि पार्टी बलियो बनाउनुपर्छ,’ उनले भने, ‘मेरो चिन्ता पनि यही छ, पार्टीलाई बलियो बनाऔं। अवसरसँगै हामीलाई चुनौती पनि छन्।’
उनले स्थानीय, प्रदेश र संघ मिलेर काम गर्नुपर्नेमा जोड दिए।