अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउनका लागि पहल गर्ने बताएका छन्।
संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आफूले पहल गर्ने बताएका हुन्।
‘अमेरिकी राष्ट्रपतिबाट नेपाल भ्रमण गर्ने र हाम्रो संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न आवश्यक पहल गर्नेछु,’ उनले भने, ‘नेपालको संघीय संसद र अमेरिकी कंग्रेसबीच भ्रमणको आदानप्रदानका लागि पनि पहल गर्नेछु।’
उनले परिस्थितिको विश्लेषण गरी जस्तोसुकै अवस्थामा पनि नेपाल र नेपालीको हित प्रबर्द्धन गर्न सक्नु र न्यायपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान गर्न सक्नुलाई सर्वोपरी प्राथमिकतामा राख्ने पनि बताएका छन्।
सरकारले १७ देशका लागि राजदूतहरू प्रस्तावित गरेकोमा सुनुवाइ सकिएको छ। अब समितिले आइतबार अनुमोदनको निर्णय गर्नेछ।