मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव स्थगित भएपछि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले उपकुलपतिको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ।
उच्च अदालत सुर्खेतको अन्तरिम आदेशका कारण अन्तिम समयमा स्ववियु चुनाव रोकिएको हो। अदाललते स्ववियु चुनाव रोक्न बिहीबार अन्तरिम आदेश दिएको थियो।
विद्यार्थीहरूले दिएको रिटमाथि सुनुवाइ गर्दै अदालतले चुनाव रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
विश्वविद्यालयका स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी बिएस्पी बायोलोजी पाँचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरूको नाम मतदाता नामावलीमा नरहेको भन्दै चुनाव स्थगितको मागसहित रिट दिएका थिए।
तर नेविसंघले भने नेकपा (एमाले) निकट अनेरास्ववियुले अदालतमा रिट हाल्न लगाएको आरोप लगाएको छ। ‘अदालतको आदेशको सम्मान गर्छौं तर आदेश पूर्वाग्रही छ,’ नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टको आरोप छ, ‘नेविसंघ बलियो देखिएपछि सेटिङमा चुनाव स्थगित गरियो।’
चुनाव गराउन नसकेको भन्दै आफूहरूले उपकुलपतिको राजीनामा पनि माग गरेको उनको भनाइ छ। नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासहित नेविसंघ टोलीले प्रदर्शन गरेका हुन्।
शुक्रबार हुने चुनाव स्थगित गरेर अदालतले दुवै पक्षलाई असोज ६ गतेका लागि बोलाएको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले स्ववियु चुनाव अन्तिम समयमा स्थगित हुनु दु:खद रहेको बताएका छन्।
‘दुई वर्षअघि पनि यसै गरी षड्यन्त्रपूर्वक निर्वाचन रोकिएको थियो। नेविसंघले विजय प्राप्त गर्ने सुनिश्चितता भ सकेको अवस्थामा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुख्यमन्त्री अखिलको कार्यकर्ताका रूपमा प्रस्तुत भएर उपकुलपति, रजिष्ट्रार र निर्वाचन समितिको आन्तरिक निर्देशनमा सम्मानित अदालत समेतलाई गुमराहमा पारी बद्नियतपूर्वक निर्वाचन स्थगित गर्ने कार्यको घोर भ्रत्सना गर्दछु,’ उनले भनेका छन्।
उनले विद्यार्थीको मताधिकारको प्रयोग गरेर लोकतान्त्रिक अभ्यास प्रक्रियालाई सुनिश्चित गर्न पनि माग गरेका छन्।