राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। केन्द्रीय समिति बैठक मंगलबार बिहान ११ बजे बस्ने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
पार्टी कार्यालय चःमतिमा बस्ने बैठकमा समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारीबारे छलफल हुनेछ। रास्वपाले असोजको १ र २ गते राष्ट्रिय भेला राख्ने निर्णय गरेको छ। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबारे निर्णय गरेको थियो।
यस्तै बैठकमा अनुशासनात्मक कारबाहीबारे पनि छलफल हुनेछ।
रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई कारबाहीको तयारी गरेको छ। यसअघि उनलाई महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गरिएकामा अब साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न लागिएको हो। यसअघि बसेको केन्द्रीय समिति बैठकले उनलाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। ढकालले त्यसको जवाफ दिइसकेका छन्।
यस्तै मंगलबार बस्ने केन्द्रीय समिति बैठकले स्थानीय छाँया सरकार कार्यविधि तय गर्ने पनि कार्यवाहक प्रवक्ता झाले बताए।
बैठकमा विविध प्रस्तावमाथि पनि छलफल हुनेछ।