नेपाली कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरण तत्काल सुरू गर्न निर्देशन दिएको छ।
जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा आलटाल गरिरहेको गुनासा आएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले तत्काल जिल्ला कार्यसमिति बैठक राखेर सदस्यता नवीकरण र वितरणका काम सुरू गर्न भनेको हो।
महामन्त्री गगन थापाले भदौ ५ गते जिल्ला कार्यसमितिहरूलाई पठाएको पत्रमा विधानअनुसार गर्नुपर्ने क्रियाशील सदस्यतासम्बन्धी काम नगरेमा वा गर्न आलटाल गरेमा वैकल्पिक निर्णय गरी सदस्यतासम्बन्धी काम अघि बढाउने चेतावनीसमेत दिइएको छ।
केन्द्रीय कार्यालयबाट यसअघि नै क्रियाशील सदस्यता कार्ड, नवीकरण फारम, नयाँ क्रियाशील सदस्यता फारमलगायत पठाइसकिएको महामन्त्री थापाको भनाइ छ।
साथै जिल्लामा प्राप्त भएका क्रियाशील सदस्यतासम्बन्धी कार्ड मातहत समितिमा पठाएर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन पनि कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको हो।
कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। विधानअनुसार चार वर्षमा अर्को महाधिवेशन गर्नुपर्ने हुन्छ। २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्न महामन्त्री थापाले गत फागुन ७ देखि १० गतेसम्म गोदावरीमा चलेको महासमिति बैठकमै सम्भावित कार्यतालिका पेस गरेका थिए।
यसबारे केन्द्रीय समितिले छलफल गरी आवश्यक निर्णय लिने महासमितिको निर्णय थियो। साउन २३ गतेदेखि सुरू केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्ने र त्यसका लागि तयारी थाल्नुपर्ने बताएका थिए।
जबाफमा सभापति शेरबहादुर देउवाले समयमै महाधिवेशन गरिने प्रतिबद्धता जनाएका थिए।