नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल इञ्जिनियर्स एसोसिएसनको चुनावमा जित हासिल गर्ने गरी तयारी गर्न आग्रह गरेका छन्।
ललितपुरको कुपन्डोलमा शनिबार भएको ‘बृहद् इञ्जिनियर भेला’ मा बोल्दै सभापति देउवाले एसोसिएसनको चुनावमा पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का तर्फबाट उम्मेदवार भएकाहरूलाई जिताउन आग्रह गरेका हुन्।
सभापति देउवाले एकताबद्ध भएर चुनावमा लाग्न पनि निर्देशन दिएका छन्।
‘एकताबद्ध भएर सिडेनका उम्मेदवारलाई जिताउन तपाईंहरू लाग्नुहोस्,’ सभापति देउवाले भने, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कुनै पनि चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्छ। नेपाल इञ्जिनियर्स एसोसिएसनको चुनावमा पनि स्वस्थ प्रतिस्पर्धासहित जित हासिल हुने गरी तयारी गर्नुहोस्।’
नेपाल इञ्जिनियर्स एसोसिएसनको चुनाव यही भदौ २८ गते हुँदैछ।
इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसियसनको चुनावका लागि कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले उम्मेदवार टुंगो लगाइसकेको छ।
अध्यक्षमा चितवनका सुवासचन्द्र बराल, उपाध्यक्षमा प्रकाश केसी र महासचिवमा विनोदप्रकाश पण्डित रहने गरी प्यानल घोषणा गरिएको हो।
अध्यक्षका उम्मेदवार बराल दुई दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय छन्। महासचिव पण्डित सिडेनका पूर्वमहासचिव पनि हुन्।
उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा, सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल र सदस्यहरूमा यमकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरूङ, अनिल पौडेल, सञ्जयकुमार साह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियंका गुप्ता र जयकसुन राय उम्मेदवार छन्।
इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो।