खानेपानी मन्त्री प्रदीप यादवले कामको प्रतिफल देखिने गरी काम गर्नुपर्ने बताएका छन्।
खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को आयोजना कार्यान्वयन सम्बन्धी दुई दिने खरिद क्लिनिक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्।
मन्त्री यादवले प्रधानमन्त्रीको निर्देशन अक्षरस: पालना गरी काम गर्नुपर्ने बताए।
उनले भने, ‘यो सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नु भएको सरकार हो, अब हामीले प्रधानमन्त्री ज्युको निर्देशन अक्षरस: पालना गरी हाम्रो कामको प्रतिफल देखिने गरी काम गर्नुपर्छ।’
यसैगरी मन्त्री यादवले विभागले आयोजना गरेको उक्त गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको र अब उक्त कुराहरू कार्य सम्पादनमा देखिने बताए।
उनले भने, ‘विभागले आयोजना गरेको उक्त गोष्ठीमा विभिन्न विषयमा प्रशिक्षण, अनुभव आदानप्रदान भएको छ, यसले तपाईंहरूको काम गर्ने शैली तथा क्षेत्रमा थप ऊर्जा थपिएको मैले विश्वास लिएको छु।’
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले विगतमा खुला दिशामुक्त क्षेत्रको घोषणा गरिएको भए पनि अझै १०० प्रतिशत नपुगेकाले हामीले कामको प्रतिफल देखिने गरी काम गर्न जरूरी भएको धारणा राखे।
सोही कार्यक्रममा देशभरी रहेका २० वटा अस्थायी खानेपानी तथा सरसफाई आयोजना कार्यलयहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङगठनलाई स्थायित्व दिन र लामो समयदेखि प्रक्रियामा रहेको कार्यलाई सम्पन्न गरी दिन माग गर्दै कर्मचारीद्धारा मन्त्री यादवलाई ज्ञापनपत्र पेश गरिएको थियो ।
उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले उक्त विषयमा आफू सिरियम भएको बताए।
उनले भने, ‘यो सबैको समस्या हो, यस विषयमा म सिरियस छु। अर्थ मन्त्रालयको मौखिक प्रतिबद्धतामा सहमत हुन सकिँदैन। लिखित चाहिन्छ।’