नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी २०६४ को जस्तै पहिलो शक्ति बन्न सक्ने बताएका छन्।
शनिबार नुवाकोट सम्पर्क समितिले काठमाडौंमा गरेको भेलामा प्रचण्डले ०८४ सालमा पहिलो पार्टी बन्न सम्भव रहेको बताउँदै त्यसका लागि पाँच काम गर्नुपर्ने बताएका छन्।
पहिलो, अहिल्यैदेखि जनताको घर घरमा जानुपर्ने उनले बताए। त्यसमा पनि सर्वप्रथम ०६४ मा माओवादीलाई भोट हाल्ने जनताकहाँ जानुपर्ने उनको भनाइ छ।
‘पहिला लिस्ट बनाउन पर्यो। भोट हाल्ने को-को हुन् खोज्नपर्यो। ती सबैसँग सम्पर्क गर्न पर्यो। उनीहरूसँग आत्मसमीक्षा गर्न पर्यो। तपाईंहरूका आशाभरो गरी हामीलाई भोट दिनुभयो। हामीले भनेजस्तो गर्न सकेनौं, विवादीत भयौं, गल्ती भयो। हामीले अब गल्ती सच्यायौं एकताबद्ध भयौं। अब हामी सबै सुशासनको पक्षमा लड्न चाहन्छौं। एकपटक फेरि हामीलाई मद्दत गर्न पर्यो भन्नपर्यो,’ अध्यक्ष प्रचण्डले भने।
त्यसरी आत्मसमीक्षा गर्ने र बीचमा लागेको धुलोमैलो टक्टक्याएर आयौं भनेर जनतासँगै भन्नुपर्ने पनि प्रचण्डले बताए।
दोस्रो, ०६४ मा माओवादीलाई भोट हाल्नेका छोराछोरी पनि खोज्ने र उनीहरू कहाँ छन् पत्ता लगाएर सम्पर्क जोड्ने प्रयास गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताए।
‘जो त्यतिबेला उमेर नपुगेर भोट हाल्दैनथे। यतिबेला उमेर पुगेको छ ती उमेर पुगेकाहरू पनि कहाँ छन् तिनीहरूको पनि तथ्यांक संकलन गर्नुपर्छ र उनीहरूलाई पनि अपील गर्नुपर्छ,’ उनले भने।
तेस्रोमा जनमुक्ति सेना र पार्टीका विभिन्न जनसंगठनका कार्यकर्ताहरूको पनि लिस्ट बनाउनुपर्ने अध्यक्ष प्रचण्डले बताए।
‘पालिका पालिकाले आफ्नो पालिकाका कति छन्, कति विदेशमा छन्। कुन् देशमा छन् भनेर तथ्यांक राख्नपर्यो र तिनलाई पनि सम्पर्क गरी अपील गर्नुपर्यो,’ उनले भने।
चौथो, सामाजिक सञ्जालको उपयोग।
अध्यक्ष प्रचण्डले माओवादी पार्टीले क्षति ब्यहोर्नुका कारण सामाजिक सञ्जालको उपयोग गर्न नसक्नु पनि रहेको बताए।
अहिले नीति कार्यक्रम र बजेट बनाउँदा आइटीलाई लिडिङ सेक्टरको रूपमा लिनुपर्छ भनेर पारित गरेका त्यसमा बजेट विनियोजन पनि गरिएको अध्यक्ष प्रचण्डले स्मरण गरे।
पाचौं काम केन्द्रीय समितिले नै गर्ने अध्यक्ष प्रचण्डले बताए। उनले कृषिलाई आधार बनाएर उत्पादन वृद्धि र रोजगारी सृष्टीका कामहरूलाई एउटा कार्ययोजना बनाएर केन्द्रीय समितिबाट देशैभरी अभियानमा हामी जान लागिएको बताए।
‘यति काम गर्यौं भने र सबै एक भएर लाग्यौं भने ०८४ मा ०६४ को हैसियत प्राप्त गर्न सक्छौं,’ उनले भने, ‘त्यसपछि संख्या देखाएर हामीलाई सरकारबाहिर गर्ने यी भ्रष्टाचारीहरूलाई कहिल्यै पनि आउन नदिने वातावरण बनाउन सकिन्छ।’
त्यस्तो वातावरण बनाउनै पर्ने अध्यक्ष प्रचण्डले बताए। र एकचोटी आँट गर्नैपर्ने पनि उनको भनाइ छ।
‘मलाई चाहीँ विश्वास छ। प्रधानमन्त्री छाड्दा विजेताजसरी छाडेको छु। म साँच्चै हिँजोको सुप्रिम कमाण्डर जसरी छाडेको छु,’ उनले भने।