लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यावसायिक रूपमा कृषि उत्पादनमा लाग्न सके नेपालले कृषिबाटै समृद्धि हासिल गर्न सक्ने बताएका छन्।
सरकारले कृषि क्षेत्रमा अनुदान उपलब्ध गराउन थालेपछि पछिल्लो समय युवाहरू व्यवासायिक रूपमा कृषि क्षेत्रमा आकर्षित हुन थालेको उल्लेख गर्दै कृषिबाटै नेपालको कायापलट गर्न सकिने बताए।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि क्षेत्रका लागि प्रचुर सम्भावनायुक्त क्षेत्र रहेको बताए।
उनले देशका विभिन्न स्थानबाट रूपन्देही, दाङ लगायतका जिल्लामा गएर व्यावसायिक रूपमा कृषि फर्महरू संचालन गरिरहेको बताए।
नेपालले कृषि र पर्यटन क्षेत्रबाटै आर्थिक उन्नति गर्न सक्ने पनि मुख्यमन्त्री आचार्यको भनाइ छ।
मुलुकमा राजनीतिक स्थायित्वका लागि २ राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सूचकांक उकालो लागिरहेकोले उद्योगी व्यवसायीका लागि पनि आशाको संकेत देखापरेको दाबी गरे।