गृहमन्त्री रमेश लेखकले तनहुँमा भएको बस दुर्घटनाबारे भारतीकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेका छन्।
शुक्रबार तनहुँको ऐनपहराबाट मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको भारतीय नम्बर प्लेटकै गाडी खसेर दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए।
घाइतेहरुलाई भेट्न शनिबार काठमाडौं आइपुगेकी खड्सेसँगै गृहमन्त्री रमेश लेखक पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
अस्पतालमा घाइतेहरूको अवस्था बुझेर फर्केपछि मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्दार तथा घाइतेहरुको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराए।
उनले मृतकका आफन्तलाई समवेदना, घाइतेको स्वास्थ्य लाभको कामनासँगै उपचारमा कुनै कसर बाँकी नराख्ने बताए।
‘घटनालगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्धारमा खटिएको थियो। घाइतेहरुको उपचारमा कुनै कसर बाँकी राख्दैनौं,’ उनले भने।
भारतकी राज्यमन्त्री दुर्घटनापछि उद्दारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति नेपाल सरकारप्रति आभार प्रकट गरिन्।
उनले घाइतेहरुको उपचारमा चिकित्सकहरुले देखाएको सक्रियताको पनि प्रशंसा गरेको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।
‘दुर्घटनामा केही मेरै आफन्तको पनि निधन भएको छ,’उहाँले भनिन्, ‘उद्दारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद।’
गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आइसियु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुक रहेको छ ।
शुक्रबार घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । सो बसमा ४३ जना यात्रु सवार थिए ।
त्यसैगरी मृतकहरुको चितवनको भरतपुर अस्पतालमा शव परीक्षण भइरहेको छ ।
गृहमन्त्री लेखक संगको भेटपछि भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्से चितवनस्थित भरतपुर अस्पताल जाने कार्यक्रम तय भएको छ।
परीक्षणपछि शव भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ।