पूर्व गृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सूर्यदर्शन र सुप्रिम सहकारीबाट ऋण लिएको रवि लामिछाने आफू नभएको बताएका छन्।
सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले शुक्रबार अपराह्न साढे ४ बजेदेखि राति साढे १० बजेसम्म लिएको बयानमा लामिछानेले ५० वटा प्रश्नको सामना गरेका थिए।
त्यसै क्रममा लामिछानेले ती सहकारीबाट ऋण लिएको व्यक्ति आफू नभएको बताएको समितिकी सांसद ईश्वरी न्यौपानेले जानकारी दिइन्।
'पोखरामा रहेको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट ऋण लिएको रवि लामिछाने म होइन। मेरो नागरिकता, धितो, कागजपत्र केही पनि प्रयोग भएको छैन। जिबीले नै फेक ऋण बनाएको भए मलाई जानकारी भएन,' रविका भनाइ उद्धृत गर्दै न्यौपानेले भनिन्।
गोर्खा मिडियाका अध्यक्ष जिबी राईको सहकारीमा संलग्नता थियो भन्नेबारे आफूले ग्यालेक्सी छाडेर आएको महिनौंपछि थाहा भएको पनि लामिछानेले बताएका छन्।
'जिबी राईको यति धेरै सहकारीमा संलग्नता थियो भन्ने कुरा मैले दोस्रोपटक सांसद जितिसकेपछि जब उनकाबारे मिडियामा खबर आउन थाले, त्यति बेला मात्र थाहा पाएको हुँ,' समितिकी सांसद न्यौपानेले लामिछानेका भनाइ उद्धृत गर्दै भनिन्, 'नेचर हब जस्ता कम्पनी छन् भन्ने कुरा भने मलाई थाहा थियो। त्यत्रा कम्पनी र अथाह सम्पत्तिको मालिक भएकाले जिबीले जहाँबाट पनि पैसा ल्याउन सक्छन् भन्ने मात्र मलाई थाहा थियो भनेर लामिछानेले भन्नुभएको छ।'
न्यौपानेका अनुसार धेरैजसो प्रश्नमा लामिछानेले 'जानकारी नभएको' जबाफ दिएका छन्।
'हामीले लामो बयान लियौं। तर सोधेका धेरैजसो प्रश्नको उत्तरमा उहाँले आफूलाई जानकारी नभएको बताउनुभयो। गोर्खा मिडियामा आफू टिभी सञ्चालनको पाटो हेर्न मात्र गएको, महिनाको ५ लाख तलब र अरू सुविधा लिएको बताउनुभयो,' उनले भनिन्, 'कानुनमा स्वेट सेयरको व्यवस्था नभएकाले जिबीले नै आफूलाई पैसा दिएर त्यही पैसा सेयरका लागि गोर्खा मिडियाको खातामा पठाएको उहाँको जबाफ छ।'
समितिले कम्पनी रजिस्टारको कार्यालयमा गएर गोर्खा मिडियाको सेयर सदस्य कायम गर्दा र छोड्दा रविले पेस गरेका प्रमाणहरूबारे सोधेको थियो। 'ती कागजातहरू व्यवहारमा जसरी चल्छ त्यसै गरि बनाइएको हो,' रविलाई उद्धृत गर्दै न्यौपानेले भनिन्, 'मैले सेयरबापत पैसा आफ्नो हालेको पनि होइन र पछि छोड्दा केही लिएको पनि होइन।'
केहीबेर अघि समितिका सभापति सूर्य थापाले छोटो प्रेस ब्रिफिङ गर्दै रविले गोर्खा मिडियाको आर्थिकपाटो बारे आफूलाई थाहा नभएको बताएको उल्लेख गरेका थिए।
उनका अनुसार आफूले प्रबन्ध निर्देशकको रूपमा दैनिक काम गरेको र आर्थिक जिम्मेवारी जिबी राईले नै जुटाउने गरेको बयान लामिछानेले दिएका छन्। यसबारे राईलाई नै थाहा हुने लामिछानेको भनाइ छ।
'उहाँले बुटवलको साहारा, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट प्रवाह भएको ऋणमा आफ्नो नागरिकता लगायत कागजात समावेश नभएको स्पष्ट पार्नुभएको छ,' उनले भने,'कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने विषय राख्नुभएको छ।'
उनलाई गोर्खा मिडिया नेटवर्क प्रालि र उक्त संस्थाका संस्थापक जिबी राईसँगको सम्बन्धबारे बुझ्न बोलाइएको थापाले बताए।