सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले पूर्व गृहमन्त्री रवि लामिछाने तथा ग्यालेक्सी टिभीको माउ कम्पनी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग ६ घन्टा लामो बयान लिएको छ।
शुक्रबार अपराह्न साढे ४ बजेदेखि राती साढे १० बजेसम्म ६ घन्टा बयानमा रविले ५० वटा प्रश्नको जबाफ दिएको समितिका एक सांसदले बताए।
'सोधपुछको काम सकिएको छ। शुद्धाशुद्धी जाँच र बयानको लिखित रूपमा रविजीको हस्ताक्षर गर्ने काम भइरहेको छ,' उनले भने।
केहीबेर अघि समितिका सभापति सूर्य थापाले छोटो प्रेस ब्रिफिङ गर्दै बयान नसकिएको र जारी नै रहेको बताएका थिए।
उनलाई गोर्खा मिडिया नेटवर्क प्रालि र उक्त संस्थाका संस्थापक जिबी राईसँगको सम्बन्धबारे बुझ्न बोलाइएको थापाले बताए।
उनका अनुसार आफूले प्रबन्ध निर्देशकको रूपमा दैनिक काम गरेको र आर्थिक जिम्मेवारी जिबी राईले नै जुटाउने गरेको बयान लामिछानेले दिएका छन्। लामिछानेले यसबारे राईलाई नै थाहा हुने बताएका हुन्।
'उहाँले बुटवलको साहारा, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट प्रवाह भएको ऋणमा आफ्नो नागरिकता लगायत कागजात समावेश नभएको स्पष्ट पार्नुभएको छ,' ती सांसदले भने, 'कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने विषय राख्नुभएको छ।'