सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक र तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बयान लिइरहेको छ।
शुक्रबार अपराह्न करिब साढे ४ बजेदेखि सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा समितिले उनको बयान लिन थालेको थियो।
तर उक्त बयान शुक्रबार साँझ पौने ८ बजिसक्दा पनि सकिएको छैन। केहीबेर अघि समितिका सभापति सूर्य थापाले छोटो प्रेस ब्रिफिङ गर्दै बयान नसकिएको र जारी नै रहेको बताएका थिए।
उनलाई गोर्खा मिडिया नेटवर्क प्रालि र उक्त संस्थाका संस्थापक जिबी राईसँगको सम्बन्धबारे बुझ्न बोलाइएको थापाले बताए।
उनका अनुसार यसका लागि ५० वटा प्रश्न तयार पारिएको र अझै जारी नै छ।
त्यस्तै लामिछाने प्रबन्ध निर्देशकको रूपमा दैनिक काम गरेको र आर्थिक जिम्मेवारी जिबी राईले नै जुटाउने गरेको उनले बताए। यसबारे राईलाई नै थाहा हुने लामिछानेको भनाइ छ।
‘५० वटा प्रश्नहरू छन्। आधा भन्दा थोरैमा छौं। थप जारी नै छ। उहाँले बुटवलको साहारा, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट प्रवाह भएको ऋणमा आफ्नो नागरिकता लगायत कागजात समावेश नभएको स्पष्ट पार्नुभएको छ,’ उनले भने,‘कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने विषय राख्नुभएको छ।’
त्यसअघि गोर्खा मिडियाकै पूर्व संस्थापक तथा पूर्व डिआइजी छविलाल जोशीसँग पनि समितिले सोधपुछ गरेको थियो।
समितिले बिहान ११ बजेदेखि उनको बयान लिएको थियो। जोशीले लिखित बयानमा हस्ताक्षर गरेर फर्किएका थिए।
‘उहाँले आफ्नो संलग्नता र स्थिति स्पष्ट पार्नुभएको छ। सोधपुछ लिखित अभिलेखमा हस्ताक्षर गरेर बिदा गरेका छौं। सविस्तार जवाफ दिनुभएको छ,’ थापाले भने।