नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कार्यकर्ता र जनतामा लोकप्रिय हुँदासम्म चुनाव लड्न पाउनुपर्ने बताएका छन्।
महामन्त्री विश्वप्रकाश शर्माले महासमितिमा पेस गर्दै केन्द्रीय समितिमा आएको समसामयिक राजनीतिक प्रस्तावमा समेटिएको नेता बहिर्गमन नीतिमा समावेश गरिएका विषयमा अहसमति जनाउँदै उपप्रधानमन्त्रीसमेत रहेका सिंहले लोकप्रिय हुँदासम्म निर्वाचन लड्न पाउनुपर्ने बताए।
यो पनि: महामन्त्री शर्माले प्रस्ताव गरेको राजनीतिबाट नेता ‘बहिर्गमन नीति’ कति जायज, कति नाजायज?
महामन्त्री शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद हुन पाउने व्यवस्थासहितको प्रस्ताव महासमिति बैठकमा पेस गरेका थिए। गत फागुन १० गते महासमितिबाट प्राप्त सुझावसहित केन्द्रीय समितिबाट अनुमोदन गर्ने निर्णय भएअनुसार यो विषयमा केन्द्रीय समितिमा छलफल भइरहेको छ।
शुक्रबार सानेपामा भएको केन्द्रीय समितिमा बोल्दै सिंहले भने, ‘कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्छ। एक, दुई, तीन, चारका नाममा नेताहरूलाई रोक्न हुँदैन। यो नीति पार्टीले लिनु हुन्न।’
फरक प्रसंगमा सिंहले पार्टीलाई लोकप्रिय बनाउने गरी संघीय सरकारले काम गर्ने प्रतिबद्धता जनाएका थिए।