नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षा र स्वास्थ्य नि:शुल्क गर्न सके भ्रष्टाचार रोकिने बताएका छन्।
कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले शिक्षा र स्वास्थ्य संविधानप्रदत्त अधिकार भएको पनि बताए।
शुक्रबार टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर क्याम्पसले आयोजना गरेको कार्यक्रममा बोल्दै महरले संविधानले ग्यारेन्टी गरेको विषय कार्यान्वयनमा ल्याउन संघीय सरकारले भूमिका खेल्नुपर्ने बताए।
'संविधानको शिक्षासम्बन्धी मौलिक हकमा नागरिकले नि:शुल्क स्वास्थ्य शिक्षा पाउने कुरा उल्लेख छ। तर हाम्रा विद्यार्थी चर्को शुल्क तिर्न बाध्य छन्। यसको अन्त्य हुनुपर्छ,' उनले भने।
संवैधानिक व्यवस्था कार्यान्वयनमा कांग्रेस लागेको र नि:शुल्क स्वास्थ्य शिक्षाका कार्यान्वयनका लागि आधार तयार पारिरहेको उनको दाबी छ।
जनताको शिक्षा र स्वास्थ्यमा राज्यले सहयोग गर्नुपर्ने उनले बताए।
शिक्षा र स्वास्थ्य नै महँगो भए नागरिकले आफ्ना सन्तान पढाउन र उपचारका लागि जोहो गर्नकै लागि भए पनि आफ्नो आम्दानीले नपुगेर भ्रष्टाचार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको उनको भनाइ थियो।
‘शिक्षा र स्वास्थ्य मात्र नि:शुल्क गर्न सकेमा धेरै भ्रष्टाचार आफै रोकिन्छ,’ उनले भने।