परराष्ट्र मन्त्री आरजु राणा देउवाले हालै गरेको भारतको औपचारिक भ्रमणबारे पार्टी केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन्।
कांग्रेस केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सांसदसमेत रहेकी मन्त्री राणाले शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन्।
उनले गत आइतबारदेखि बिहीबारसम्म भारतको औपचारिक भ्रमण गरेकी थिइन्।
‘दुई ठूला पार्टी (कांग्रेस-एमाले) मिलेर सरकार बनाएकोमा कस्तो रेस्पोन्स हुन्छ भन्ने थियो, यसमा राम्रो रेस्पोन्स भएको जानकारी गराउँछु,’ परराष्ट्र मन्त्री राणाले केन्द्रीय समितिमा गरेको ब्रिफिङ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘लक्किली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि भेट भयो।’
परराष्ट्र मन्त्री राणाले भदौ ३ गते भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। नेपालको विकासमा सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री मोदीको भनाइ रहेको परराष्ट्र मन्त्री राणाको भनाइ छ।
परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्माका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमण गर्ने जानकारी पाएको समेत ब्रिफिङ गरेकी छन्।
सोही दिन उनले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन्। भारतीय विदेश मन्त्री जयशंकरको निम्तोमा परराष्ट्र मन्त्री राणाले भारको भ्रमण गरेकी थिइन्।
साथै परराष्ट्रमन्त्री राणाले भारत भ्रमण सफल भएको पनि जानकारी गराएकी छन्।
नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको उनको भनाइ थियो।
भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको उनले बताइन्।
विदेशमन्त्री जयशंकरसँग भएको भेटवार्तामा आपसी हितका साथै उर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधार लगायतका विषयमा कुराकानी भएको मन्त्री राणाको भनाइ छ।
भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयहरुको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवं अन्य निकायहरूद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने मन्त्री राणाले बताएको उनको सचिवालयले जानकारी दिएको छ।