सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले शुक्रबार पूर्व डिआइजी छविलाल जोशीसँग सोधपुछ गरेको छ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिले उनीसँग सहकारी ठगीसँग सम्बन्धित विषयमा सोधपुछ गरिरहेको हो।
गत वर्ष माघ २४ गते प्रहरीले उनको शंखमुलस्थित घरमा छापा मारेको थियो। उक्त घरबाट प्रहरीले सूर्यदर्शन सहकारीको सर्भर बरामद गरेको थियो। सर्भरमा भेटिएका विवरणबारे र उनको घरमा राखिएका ती सर्भरबारे सोधपुछ भइरहेको हो।
उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने कार्यसूची छ। सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।
विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ।
समितिको ४२ औं बैठकमा गोरखा मिडिया प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालकसमेत रहेका रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यसँग सोधपुछ गरेको थियो।
बिहीबार नै तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ् कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेलसँग पनि सोधपुछ गरिएको थापाले जानकारी दिए।
तस्बिरहरू:
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी