परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमामा हुने डुबान, थप हवाई रूट, पञ्चेश्वर परियोजना लगायत विषय ध्यान दिएर सुनेको बताएकी छन्।
भारत भ्रमण सकेर उनी बिहीबार दिउँसो स्वदेश फर्किएकी हुन्।
‘म पनि नयाँ नयाँ परराष्ट्र मन्त्री, मलाई यहाँ एकदमै ब्रिफिङ गरेर पठाउनुभएको थियो। यो लेभलमा यो कुरा हुन्छ। त्यही लेभलमा यहाँ गर्ने, त्यही कुरा त्यहाँ गर्ने भनेर। अस्तिन सचिवस्तरको बैठकमा जुन कुरा गरेका थियौं– दक्षिणतिर बाढीको समस्या छ। थप हवाई रूटहरूबारे, पञ्चेश्वर परियोजनाका कुराहरू। मैले मोदीजीसँग पनि त्यही कुरा गरेँ। उहाँले ध्यान दिएर सुन्नुभयो। उहाँले नेपाललाई माया गर्नुहुँदो रहेछ। यो–यो कुरामा अगाडि बढ्नलाई उहाँहरूले आफ्नो देशको संयन्त्रलाई पनि हाम्रै अगाडि यो–यो गर्नुहोला भनेर अह्राउनुभयो,’ उनले भनिन्।
मोदीसँगको भेटका अवसरमा नेपाल–भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धनमा विचार आदानप्रदान भएको उनले बताइन्।
भेटका बखत प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका मोदीलाई व्यक्त गरेको अभिवादन तथा शुभकामना प्रवाह गरेको बताइन्। यसका साथै नेपाल भ्रमण निमन्त्रणा पत्र औपचारिक रूपले हस्तान्तरण गरेको बताइन्।
‘यसअघि मैले सोही दिन नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको सो अवसरमा व्यापार तथा पारवहन, ऊर्जा तथा कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्य आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायत नेपाल भारतका समग्र पक्षमा कुराकानी भएको थियो। यसका अलावा दुई पक्षीय संयन्त्र समेतका माध्यमबाट दुवै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा कुराकानी भयो,’ उनले भनिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणालाई भारतीय समकक्षी मोदीले सकारात्मक रूपमा लिएको उनले बताइन्।
‘समय मिलाएर भ्रमण गरौंला भन्नुभएको छ। उहाँले सदासयता देखाउनुभएको छ। जति पनि संयन्त्र छन्, ती चलायमान हुन्छन् भन्नुभएको छ। मैले त्यही आशा गरेको छु,’ उनले भनिन्।