प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग विस्तार कार्य अवरोधबिना अगाडि बढाउन सम्बन्धित चिनियाँ निर्माण व्यवसायीलाई बारम्बार सचेत गराएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित पूर्व–पश्चिम राजमार्गको विशेष गरी नारायणघाट-बुटवल खण्डको सडक स्तरोन्नतिको ढिलाइबारे निर्माण व्यवसायीको माथिल्लो नेतृत्वसँग समेत कुराकानी गरेको बताएका हुन्।
प्रधानमन्त्रीले निर्माण व्यवसायीले पेश गरेको कार्य तालिकाअनुसार एक वर्षभित्र सम्पन्न गर्नेगरी म्याद थप गरिएको बताए।
‘साथै, सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत यस योजनाको अनुगमन गरिएको छ। पेश गरेको कार्यतालिका अनुसार प्रगति हासिल नगरे ठेक्का अन्त्य गरी थप कारबाही गरिनेछ,’ उनले भने।