सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोलाएको छ।
रास्वपा सभापति लामिछानेलाई साेधपुछका लागि शुक्रबार २ बजे बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।
सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो।
विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ।
समितिको ४२ औं बैठकमा गोरखा मिडिया प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालकसमेत रहेका रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यसँग सोधपुछ भएको थियो।
बिहीबार नै तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ् कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेलसँग पनि सोधपुछ गरिएको थापाले जानकारी दिए।